Search News
मतदाता थपिए पनि मतदानमा उत्साह कम: 'जेनजी' आन्दोलनपछिको निर्वाचनमा ५८% मात्रै मत
- Monday Mar 09 2026
- | 1435 Read
Share News

काठमाडौँ । जेनजी आन्दोलन पछि यो निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता पनि थपिएका थिए।
यसरी मतदाताको संख्या बढे पनि मतदान भने अहिलेसम्मकै कम खसेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।
निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरण अनुसार यसपालि ५८ प्रतिशत मात्रै मत खसेको हो।
कुल मतदाता एक करोड ८९ लाख ३ हजार ६७८ छन्।
त्यसमध्ये एक करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो। यो भनेको ५८ प्रतिशत हो।
हरेक निर्वाचनको ट्रेन्ड हेर्ने हो भने ६० प्रतिशतको हाराहारीमै खसेको छ। यसपालि पनि करिब ६० प्रतिशत मत खस्ने अनुमान गरिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयोे । मतगणना सकिसक्दा यो प्रतिशत बढ्न सक्ने उहाँ बताउनुहुन्छ। उहाँले अन्तिमसम्ममा ५९ सम्म पुग्न सक्छ पनि भन्नुभयो । ‘यसअघि २०७९ सालमा खसेको मत पनि ६१ प्रतिशतकै हाराहारीमा हो। अघिल्लो निर्वाचनमा भन्दा अलि कम खस्नुमा विभिन्न कारण हुनसक्छ।’
आयोगको तथ्यांक हेर्ने हो भने
२०७९ सालमा ६१ प्रतिशत मत खसेको थियो।
त्यसअघि २०७४ सालमा ६८ प्रतिशत र २०७०मा भएको संविधान सभा निर्वाचनमा ७८ प्रतिशत मत खसेको थियो।
त्यसअघि संविधान सभा निर्वाचनमा २०६४ सालमा ६१ प्रतिशत, त्यसअघि २०५६ सालमा ६५ प्रतिशत, २०५१ सालमा भएको मध्यावधिमा ६१ प्रतिशत र २०४८ सालमा ६५ प्रतिशत मत खसेको देखिन्छ।
यो निर्वाचनमा मतदान कम हुनुको कारणबारे निर्वाचन आयोगले समीक्षा गर्ने सूचना अधिकारी घिमिरेले बताउनुभयो।
आयोगले मतदान कम हुनुका चार प्रमुख कारण रहेको जनाएको छ ।
पहिलो धेरै मतदाताहरू अध्ययन वा रोजगारीका लागि आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका छन्। निर्वाचनको समयमा उनीहरू आफ्नो गाउँ वा क्षेत्रमा नफर्किंदा मत प्रतिशतमा असर परेको हो।
दोस्रो यसपटक ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय परिचयपत्रमार्फत नामावली दर्ता गराएका थिए। तर, उनीहरू मतदानका लागि नेपाल आउन नपाएकाले संख्या बढे पनि मत खस्न सकेन।
तेस्रो मतदाता सूचीमा अझै पनि मृत्यु भइसकेका व्यक्तिको नाम नहट्नु र कतिपयको नाम दोहोरो हुनुले पनि कुल प्रतिशत कम देखिएको आयोगको अनुमान छ।
चौथो जेनजी आन्दोलनपछि पुराना राजनीतिक दलहरूप्रति युवा र स्वयम् दलका कार्यकर्ताहरूमा समेत केही असन्तुष्टि र नैरस्यता देखिएका कारण उनीहरू मतदान केन्द्रसम्म पुगेनन्।

For Add Product Review. You Need To Login First Login Page




















